बाहिरि चक्रपथ निर्माणका लागि डिपिअार एक सातमै तयार हुने

 

काठमाडौँ । बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर एक साताभित्रै तयार हुने भएको छ । डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ विकास आयोजनाले जनाएको छ ।

अायोजनाका निमित्त प्रमुख ध्रुब सापकोटाका अनुसार आयोजनाले चक्रपथको डीपीआरको अन्तिम रुप दिने काम एक साता भित्रै सक्ने छ । त्यसपछि चालु आर्थिक वर्षमा चक्रपथको ६ वटा खण्डमध्ये एउटामा डोजर चलाएर ट्रयाक खोल्ने काम सुरु हुनेछ ।

सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने सरकारले बाहिरी चक्रपथको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो । ७२ किमीको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले ७२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउँदैछ । बाँकी लगानी भने नेपाल सरकारको रहने छ ।

बाहिरी चक्रपथको ७२ किलोमिटर मध्ये काठमाडौँ ३५.०८ किलोमिटर सडक रहने छ । त्यस्तै ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएको छ ।

अाठ लेनको सडकको दुबै किनारमा साइकल ट्रयाक रहने छन भने ग्रिनरी बेल्टसहितको फुठपाथ समेत बनाइने छ । यसको कुल चाैडाइ ५० मिटर रहने छ । निमित्त प्रमुख सापकोटाका अनुसार चक्रपथको दायाँबायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु आयोजनाले बनाइ दिनेछ ।

सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ ।
आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्दा स्थानीयसँग ‘गिभ एण्ड टेक’ अवधारणामा जग्गा लिँदैछ । बाहिरी चक्रपथ खोल्न लागिएका क्षेत्रमा जग्गा दिने स्थानीयलाई सडकले नै ठूलो फाइदा दिने भएकाले उनीहरुलाई जग्गामा योगदान गर्न लगाइएको छ ।

यो सडक चोभार, गम्चा, सतुंगल, नैकाप पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोर्कर्णेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णडोल, हरिसिद्धी, धापाखेल बुङ्मती भएर चोभारमै पुग्नेछ ।

Source :- हलकारो.com