अपार्टमेन्टको अवस्था अध्ययन भइरहेको छ: महानिर्देशक, भवन विभाग

महाभूकम्पको ताण्डवपछि कलाकार हरिवंश आचार्य आफ्नो अपार्टमेन्ट छाडेर भान्जाको घरमा बसिरहेका छन्। सुविधासम्पन्न भनेर रोजेको अपार्टमेन्ट चर्किएर डरमर्नु भएपछि उनी बालुवाटारस्थित भान्जाको घरमा गए।

‘अब भक्तपुरको रोजबड भिलेजमा नै सर्छु,’ हरिवंशले भने, ‘बेच्नलाई बैना लिएको थिए। बैना फिर्ता दिए। केहि दिनमा उतै सर्छु।’ अपार्टमेन्टमा आधुनिक बसाई सुरू गरेका उनी फेरि घरमै सर्ने भएका छन्।

***      

सशस्त्र प्रहरीका एआइजी जीवन थापा प्रेस्टीज अपार्टमेन्ट धुम्बाराहीमा बस्थे। भूकम्पले अपार्टमेन्टमा धेरै ठाउँ चर्केको छ। सशस्त्रमा उनका सहकर्मीका अनुसार उनी पिर मानिरहेका छन्, ‘घर आउने पैसाले अपार्टमेन्ट किनियो, चर्किएको घरमा कसरि फर्किने!’

***  

राष्ट्रसंघीय सेवामा लामो समय बिताएर फर्केका भीम उदास पनि प्रेस्टिज अपार्टमेन्टकै चौध र पन्ध्र तलामा बस्थे। उनी अहिले नातेदारको आश्रयमा छन्। ‘हाम्रो अपार्टमेन्टका आफ्नो घर हुनेहरु फर्किए। बाँकि कोहि नातेदार कोहि अझै पालमै छन्,’ उनी भन्छन्, ‘एक त अग्लो घरमा बानि नपरेका त्यहाँमाथि चर्किएपछि धेरैको सातो गएको छ।’

उदासका अनुसार उनी बसेको अपार्टमेन्टमा पाँच तलासम्म क्र्याक छ। त्यहाँ भन्दा माथि खासै क्षति देखिन्न। भवन विभागले पहेलो ट्याग लगाइदिएको छ। बनाएर बस्न सुरक्षित हुन्छ भन्नेदेखि थरिथरि राय आइरहेको छ।

‘डेभलपरले राम्रो मानिस ल्याएर देखाउँछौं। सुरक्षाको ग्यारेन्टी भएपछि मात्र बस्नुहोला भनेको छ,’ उदासले भने,‘अहिले त्यहाँ सरिहाल्न सम्भव छैन, चित्तबुझ्दो मर्मतपछि इञ्जिनियरको सिफारिस अनुसार निर्णय लिन्छु।’

संसारका विभिन्न ठूला शहरमा बसोबास गर्दा उदास ‘अपार्टमेन्ट कल्चर’ मा भिजेका छन्। त्यसैले उनी छीट्टै चौध, पन्ध्र तलाको उँचाईमै फर्किन चाहन्छन्।

***

अभिनेत्री रेखा थापा बस्ने मित्रपार्कस्थित अपार्टमेन्ट पनि चर्केको छ। भूकम्पले अत्याएपछि धेरैले आफ्नो बास छाडे। थापा पनि आफन्त कहाँ बौद्धमा बसिरहेकी छिन्।

‘हाम्रो अपार्टमेन्ट खासै अग्लो छैन ६,७ तला मात्रै छ। भर्‍याङ र अलि अलि भित्ता मात्र चर्केको छ,’ उनले भनिन्,‘धेरैजना अपार्टमेन्टमा फर्किसके। म पनि दुईचार दिनमा फर्किहाल्छु।’

***

उपत्यकामा ५२ वटा अपार्टमेन्ट तथा हाउजिङमा बस्ने मध्ये सयौं परिवार अहिले आचार्य, उदास वा थापाद्वय जस्तै मनस्थितिमा छन्। रेखा जस्तो ‘म अपार्टमेन्ट फर्किहाल्छु’ भनेर ढुक्कसँग भन्नसक्ने अवस्थामा थोरै परिवार मात्र छ।

सुरक्षीत र व्यवस्थित ठानेर किनेको अपार्टमेन्ट चर्किएपछि उनीहरु भयभित र आक्रोशित पनि छन्। तर व्यवसायीले अधिकांश अपार्टमेन्टको बनोट (स्ट्रक्चर) मजबुत रहेको र त्यसमा कुनै समस्या नरहेको दाबी गरेका छन्।

हाउजिङ एण्ड लिजीङ एसोसियसनका उपाध्यक्ष मीनमान श्रेष्ठले धेरै अपार्टमेन्टहरू चर्केको मात्रै बताए। ‘चर्केका अपार्टमेन्टमा मर्मत सम्भारपछि बस्न पुरापूर योग्य हुन्छ,’ श्रेष्ठले भने।

सोसाइटी अफ नेप्लीज आर्किटेक्ट(सोना) का अध्यक्ष एवं पूर्वसचिव किशोर थापा अहिले अपार्टमेन्ट धनी र निर्माण कम्पनीबीच विश्वासको संकट रहेको बताउँछन्। यस्तो अवस्थामा नागरिकलाई सुरक्षाको प्रत्याभूती गराउने जिम्मा सरकारको भएको धारणा उनको छ।

‘मैले पाएको जानकारी अनुसार धेरैजसो अपार्टमेन्टमा प्लास्टर उप्किएको, गारो चर्किएको, सीसा फुटेको लगायत नन स्ट्रक्चरल समस्या देखिएको छ,’ थापाले पनि, ‘घरको स्ट्रक्चर बलियो भएपनि यस्ता क्षतिको मर्मत गरेपछि मात्र अपार्टमेन्ट सुरक्षित हुन्छ, बस्न लायक हुन्छ।’

अपार्टमेन्टको अनुगमन भवन विभाग र बिमा कम्पनीका सर्भेयरहरुले समेत गरिरहेका छन्। अपार्टमेन्ट धनीहरुले आफै पनि इञ्जिनियरहरुलाई देखाइरहेका छन्। ‘चर्केका अपार्टमेन्टहरुको सुरक्षाका हिसाबले कुन अवस्थामा छ त्यसबारे अध्ययन भइरहेको छ,’ विभागका महानिर्देशक शम्भु केसीले भने।

भूकम्पले चर्काएका राजधानीका अपार्टमेन्टहरु

 

 

                                                                                                                                                           source: setopati.com